
इटहरीः नेपाली कांग्रेस नेतृत्वको चुनावी गठबन्धनले इटहरीमा २५ बुँदे संकल्पपत्र सार्वजनिक गरेको छ । समुन्नत नगर, नेपाली कांग्रेस नेतृत्वको सवल स्थानीय सरकार भन्ने नाराका साथ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, शहरको सौन्दर्य प्रवद्र्धन, कृषि आधुनिकीकरण, साहित्य र संस्कृतिको संरक्षण तथा फोहोर व्यवस्थापनको मुद्दासहितको संकल्पपत्र सार्वजनिक गरिएको छ ।
आवासीय क्षेत्रमा १० हजार लिटर निःशुल्क पानी, हजार स्क्वायर फिटसम्मको निःशुल्क घरनक्सा पासलगायतका संकल्पसहित साझा संकल्पपत्र सार्वजनिक गरेको हो । आइतबार गठबन्धनले संयुक्त कार्यक्रमको आयोजना गर्दै आफुहरुले नगर्ने कामको सूचीसहितको संकल्पपत्र पनि सार्वजनिक गरेको हो ।
संकल्पपत्रमा दलीय आधारमा उपमहानगरपालिकाबाट दिइने सेवामा भेदभाव नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने, कानुनको सीमाभन्दा बाहिर गएर आर्थिक प्रलोभनमा परेर कुनै निर्णय नगर्ने संकल्प समेत गठबन्धनले लिएको छ ।
नातेदार तथा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ तथा कर्मचारी र सहयोगीमा समेत नियुत्त नगर्ने संकल्प लिएको छ । महिलामाथि हुने हिंसा, जातीय भेदभाव लैँगिक विभेद र सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा कुनै हिसावले संलग्न नहुने पनि प्रतिबद्धता गठबन्धनले गरेको छ ।
