
काठमाडौंः नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उम्मेद्वार राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् । उनीसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले पार्टीमा स्वागत गरेका छन् ।
श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको आरोप लगाए । उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टी त्यागेको उनले बताएका छन् ।
यसअघि नै माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिका वडा १३ का वडाध्यक्ष उम्मेदवार रामशरण डंगोल र वडा नम्बर १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन उम्मेद्वारी फिर्ता गरेर एमालेमा प्रवेश गरेका थिए ।
