
विराटचोकः हिजो भएको स्थानीय तहको निर्वाचनमा संघीय राजधानी काठमाडौंसहित देशका केही नगरपालिकामा स्वतन्त्र उम्मेद्वारले अरु उम्मेद्वारलाई प्रारम्भिक मत परिणाममा पछि पारेका छन् । धरान, धनगढी, जनकपुर, धुलिखेल, बर्दिबासलगायतका नगरपालिकामा स्वतन्त्र उम्मेद्वारले अरुलाई उछिनेका हुन् ।
काठमाडौंमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १०९ र नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ९७ मत ल्याएका छन् ।
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले ५५ मत ल्याउँदा नेपाली कांग्रेसका नृपबहादुर बडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।
सुनसरीको धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१ र नेकपा एमालेकी मञ्जु भण्डारीले १६ तथा राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।
धनुषाको जनकपुर उपमहानगर पालिकामा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साहले २५९ मत पाएका छन् । गठबन्धनका उम्मेद्वार जनता समाजवादी पार्टीका लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् । उनी निवर्तमान मेयर हुन् । कांग्रेसले जसपाका उम्मेदवारलाई समर्थन गरेपछि मनोज स्वतन्त्र उम्मेदवार बनेका थिए ।
काभ्रेको धुलिखेलमा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले ५७२ मत ल्याउँदा एमालेका उम्मेद्वार निवर्तमान मेयर अशोककुमार ब्याञ्जुले ४०५ मत ल्याएका छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठले १८ मत ल्याएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लादकुमार क्षेत्रीले ३४५ मत ल्याएका छन् । एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले २५६ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका राजु खड्काले १५६ र नेपाली कांग्रेसका चिरञ्जीवी हमालले १० मत पाएका छन् ।
जुम्लाको चन्दनाथमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ३६७ मत ल्याएका छन् । कांग्रेसका पदमबहादुर शाहीले १९२, माओवादीका जीवनबहादुर बुढ्थापाले १६१ र एमालेका धर्मेन्द्र रोकायाले ७६ मत ल्याएका छन् ।
