Saturday, October 1, 2022

इटहरीवासीको एउटै चाहना ‘बुढी र शेरा खोला’ मा तटबन्ध

स्मारिक राई, इटहरी। इटहरी उपमहानगरपालिकाका नागरिकले ५ वर्षअघि आएको बाढीले पु¥याएको क्षति बिर्सिएकै थिएनन्, त्यसमा फेरि गत कात्तिकमा आएको बेमौसमी बर्षा र बाढीको असर थपियो । यस वर्ष फेरि बर्खा लागि सकेको छ। बर्खा लागेसँगै इटहरीका बासीन्दा त्राहीमाम भएका छन् ।

बाढी पीडितको सहज पहुँचमा रहेको स्थानीय सरकारसँग बाढी पीडित इटहरीका नागरिक अब भने समस्या समाधान हुनेमा आशावादी छन् । २०७४ सालमा आएको बाढीबाट भएको घटना इटहरी वडा नं. १० की पार्वती यादवको मस्तिष्कबाट कहिल्यै हट्दैन् । त्यतिबेला उहाँको बाढीले घर नै बगाएर लग्यो । राति जसोतसो बाढी पार गर्न भ्याएर पार्वतीदेवीसहित परिवारका सहज आश्रय स्थल पुग्नुभयो । २०७८ कार्तिकमा बाढी घर नजिकै आउनसाथ राति १२ बजे नै महत्वपूर्ण सर सामान निकालेर परिवारका सबै जना सुरक्षित स्थानमा पुग्न सफल हुनुभयो ।

इटहरीकै गैरी गाउँँकी कृष्ण कुमारी राईलाई पनि बर्खाको बेला कयौँ रात जागै बसेको अनुभव छ । २०७४ सालको वाढीले त गैरी गाउँ पुरै तहसनहस पारेको थियो ।

यसरी बाढीले गर्दा इटहरीका बासीन्दा पटकपटक पीडित हुँदै आएका छन् । यसरी पीडित भएका भर्खरै निर्वाचित भएर आएका जनप्रतिनिधिले यसअघिका जनप्रतिनिधिले अधुरै छोडेका कामहरू छिटो पूरा गरिदिनेमा आसावादी छन् । सुनसरीका नागरिक पनि अघिल्लो कार्यकालमा पूरा हुन नसकेका काम अब हुने आसमा रहेका छन् । घरदैलोको सरकार मानिएको स्थाननीय सरकारसँग इटहरीबासीको एउटै आसा छ, बुढीखोला र शेरा खोलामा तटबन्ध ।

सामान्य पानी पर्दा इटहरी डुबानमा पर्छ । किन इटहरी डुबान भइरहन्छ र के कारणले भनेर भन्नेबारे सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म ठोस रिसर्च गरेको छैन् । तर, पछिल्लो समय खेतीयोग्य जमीनलाई टुक्राटुक्रा पारेर प्लर्टिङ् गरि क्रक्रिटका घरहरु निर्माण गर्दा निकासको समस्या रहेकाले गर्दा दुई÷तीन दिन निरन्तर पानी पर्दा वस्ती डुबानमा पर्ने गरेको छ । खेतीयोग्य जमीन घडेरीमा परिणत हुनु र कंक्रिट घरहरु बनाउँदा इटहरी डुबानमा परेको नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी बताउनुहुन्छ ।

त्यसो त टेङ्ग्रा खोलाको जग्गा अतिक्रमण भएर साँघुरो भएका कारण पनि इटहरीका धेरै स्थान डुबानमा पर्ने गरेका छन् । टेङ्ग्रा खोला साँघुरो हुँदा जडा नं. २, ३, ४, ६, ९, १०, ११, १२ डुबानमा पर्न गरेको छ। धरान वडा नं. ६ को पानीमारीमा शेरा खोला इटहरी वडा नं. ३ मा प्रवेश गर्दा पनि बाढीले असर गर्ने गरेको छ।

इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो । त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो । यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो । त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो । विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन् । तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो ।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो । यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे । जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए । जसले गर्दा सहजै पानी निकास हुने गथ्यो ।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दिर्घकालीन योजना बनाएर सदाँका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासीन्दा पीडित हुँदै आएका छन् ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन् । तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३,४,९,१०,११,१२ नम्बर वडा छन् ।

२०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो । गत बर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो । अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो । इटहरीमा विशेषगरी टेङ्ग्रा, बुढी, शेरा, खेतीखोलासहित रामधुनीको बोर्डरमा रहेका साना खोलाले इटहरीलाई बढी असर पु¥याउने गरेको वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताउनुभयो ।

इटहरीले बाढी जोखिम न्यूनीकरण गर्ने मुख्य योजनामा राखेको छ। २०७४ सालको बाढीपछि उममहानगरपालिकाले ३० लाख रुपैयाँ नगरसभाबाट पारित गरी रकम छुट्याएर तटबन्धको काम गरेको थियो । तर, अहिलेसम्म प्रभावकारी काम हुन सकेको छैन । यसको दिर्घकालिन योजना नहँुदा पनि समस्या बढ्दो छ। मुख्य समस्याको रुपमा रहँदै आएको बाढी नियन्त्रणका लागि उपमहानगरपालिकाको सीमित स्रोत साधनले मात्र नधान्दा समस्या भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जिवन घिमिरेले बताउनुभयो । अल्पकालिन योजनाका लागि भने उपमहानगरपालिका, प्रदेश र सघिंय सरकारको बजेटबाट केही रोकथामका प्रयास भएको उहाँको भनाई छ ।

२०७९ को स्थानीय तहको निर्वाचनमा इटहरीका सवै राजनीतिक दलहरुका उम्मेदवारहरुले बाढी पीडितको समस्या समाधान गर्ने नै आफ्नो पहिलो एजण्डा बनाए । त्यसैले पनि नयाँ सरकारसगँ भने इटहरीका बाढी पीडितको ठुलो अपेक्षा छ । इटहरी उपमहानगरपालिकका मेयर हेमकर्ण पौडेलले अध्ययन गरेर बाढी नियन्त्रणको काम थाल्ने र आवश्यक बजेट छुट्याउने जानकारी दिनुभयो ।

२० वटा वडा रहेको इटहरीमा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेले जितेको छ। वडाहरूमा नेपाली काँग्रेसले पाँचवटा जितेको छ। नेकपा एमालेले १४ वटा वडा जितेको छ। एउटा वडामा भने एमालेबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका वडाध्ययक्षसहित प्यानल नै विजयी भएको छ। जुन दलका प्रतिनिधि आएको भएपनि आफ्ना समस्या समाधान हुने आसा नागरिकको रहेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट