Saturday, October 1, 2022

इटहरीका गैरकानूनी मेनपावरलाई कानूनी प्रकृया पुरा गर्न आग्रह

सुनसरी । इटहरीमा सञ्चालित बिना इजाजतका मेनपावरलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न आह्‍वान गरिएको छ । संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले सोमबार पत्रकार सम्मेलन गरि बिना इजाजत सञ्चालित मेनपावर कम्पनीलाई तत्काल इजाजत लिन आह्‍वान गरिएको हो ।

इटहरीमा आधिकांश मेनपावरका शाखा कार्यालय बिना इजाजत सञ्चालित छन् । आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीले संयुक्त रुपमा मेनपावरहरूमाथि छापा मारेको थियो । अनुगमनका क्रममा भेटिएका इजाजत नलिएका मेनपावर कम्पनीलाई कानूनी रुपमा दर्ता हुन निर्देशन जारी गरिएको थियो । तथ्याङ्क अनुसार इटहरीमा ६० भन्दा बढी गैरकानूनी मेनपावरका शाखा छन् । जसले गर्दा विदेश जानेहरूको लगानी जोखिममा हुनुको साथै मेनपावर व्यवसायको छवि बिग्रदै गएको व्यापक जनगुनासो बढेको छ ।

यसरी जनगुनासो बढीरहँदा संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले इजाजतको प्रकृयालाई सहज बनाउन वैदेशिक रोजगार विभाग र सरकारसँग पहल गर्ने संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका संयोजक दुर्गा थापाले बताए ।

कतिपय मेनपावरका शाखा इजाजतको प्रकृयामा रहेको त कति जथाभावी कोठा भाडामा लिएर अवैध रूपले वैदेशिक रोजगारमा जानेहरुसँग पैसा र पासपोर्ट उठाउने गरेकाले जनगुनासो बढ्दो छ। साथै, मेनपावर कम्पनीको नाममा बिचौलिया बढी हाबी भएका कारण समेत मेनपावर प्रति विश्वास गुम्दै गएको संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका सचिव गणेश ओलीले बताए । 

इटहरीमा यतिबेला १६ वटा मात्र मेनपावरका शाखाले मात्र इजाजत लिएका छन् । इजाजत प्राप्त मेनपावरको छाता संगठन संयुक्त वैदेशिक रोजगार व्यवसायी इटहरीले लुकिछिपी तथा गैरकानूनी रुपमा अब इटहरीमा वैदेशिक रोजगारका गतिविधि सञ्चालन नगर्न पहल थालेको हो ।

यसको लागि सबै निकायसँग पहल थालिने भएको छ। इटहरी वडा नं. ४ का वडाध्यक्ष तथा पूर्व मेनपावर व्यवसायी भक्त लामाले दर्ता प्रक्रियाका लागि सरकारी निकायसँग पनि पहल थाल्ने बताए । पत्रकार सम्मेलनका क्रममा मेनपावर व्यवसायीले आफ्ना गुनासाहरू पनि राखेका थिए । 

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट