
इटहरी । अविरल वर्षाका कारण इटहरीमा आएको बाढीले घर भत्काएको छ । इटहरी ५ स्थित सिमरवनामा स्थानीय रामवृक्ष चौधरीको घर बिहान सकुमारी खोलाले कटान गरेर घर भत्काएको हो ।
एक तले पक्की घरको दुई वटा कोठा भत्किएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । घर बाढीले भत्काउँदा घर भित्र रहेको चामल, टेलिभिजन, भाडा तथा लत्ता कपडा बगाएको जनाइएको छ । घर भत्किएको स्थानमा पुगेर इटहरीका मेयर हेमकर्ण पौडेलले आवश्यक राहत सहयोग गर्ने र अस्थाई बसोबासको लागि व्यवस्थापन मिलाएका छन् ।
यस्तो छ सुनसरीको पछिल्लो अवस्था :
निरन्तरको बर्षाको कारण सुनसरीको भोक्राहानरसिंह ५ मा सुनसरी खोलाको बाढीले डुवान गर्दा ७० घर धुरी विस्थापित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले दिएको जानकारी अनुसार भोक्राहानरसिंह-५ टपरा टोलका ७० घर धुरी डुवानमा परेका हुन् । ७० घर परिवारका डुवान पिडितहरुलाई नजिकैको उच्च स्थानमा टेन्ट टागेर राखिएको छ । उनीहरुलाई वडा कार्यालयले त्रिपाल, र केही टेन्ट र केही खाद्यन्न वितरण गरिएको छ ।
यसैगरी सुनसरीको बर्जु गाउँपालिका-६ र ५ मा पनि डुवान भएको छ । सुनसरीको कोशी गाउँपालिकाको वडानं. २ उराउ टोलमा पनि डुवान भएको छ । इटहरी उपमहानगरपालिकाको वडानं. ८,७ र २ मा पनि डुवान भएको छ ।
यसैगरी दुहबी नगरपालिकामा पनि डुवान भएको छ । दुहबी कन्चनबारी जोडने कृषि सडक तीन ठाउमा काटेर पानी तर्काईएको छ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाका-८ नम्वर वडामा पनि सुनसरी खोलाको बाढीबाट डुवान भएको छ । २५ घर डुवान भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिएका छन् । भोक्राहनरसिंह बाहेक अरु ठाउमा विस्थापित हुनेगरी डुवान नभएको बताईएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र-१ स्थित बम्हानन्द खोलामा चतरा–बराहक्षेत्र भित्रि सडक खण्डमा माथिबाट झरेको पहिरोले पुरिएर सडक अवरुद्ध भएको छ । पहिरोले १० मिटर सडक पुरेको छ ।
