Saturday, October 1, 2022

लक्ष्मीकलीले छावा जन्माएसँगै कोशी टप्पुमा खुसियाली

कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेका हात्तीमध्ये लक्ष्मीकलीले छावा जन्माएसँगै खुसियाली छाएको छ। सुत्केरी हात्तीको स्याहार गर्न र छावा जोगाउँन कर्मचारी अहोरात्र खटिएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेका हात्तीमध्ये १४ वर्षीया लक्ष्मीकलीले पोथी छावा जन्माएपछि यतिबेला हात्ती र छावा दुवैको स्याहार गर्न कर्मचारी खटिएका हुन् ।

लक्ष्मीकलीले जन्माएको पहिलो स्वस्थ्य छावा भएकाले गर्दा कर्मचारीहरु एक महिना अघिदेखि नै रातभर नसुतिकन हात्तीको स्याहार गर्न खटेका थिए । छावा जन्मिएपछि सुत्केरी हात्ती र छावा दुवैको स्याहार गर्न कर्मचारी खटिएको हात्तीसार विभाग अधिकृत रामगुलाम चौधरीले बताउनुभयो ।

लक्ष्मीकलीले यसअघि २०७७ जेठ अन्तिम साता जन्माएको छावा भने साढे आठ घण्टापछि मृत्यु भएको थियो । त्यसअघि दुईपटक गर्भ तुहिएको थियो । लक्ष्मीकलीले जन्माएको छावा पूरा समय अवधिमा जन्मिएकाले गर्दा पनि कुनै समस्या नआउने हात्तीसार विभागका अधिकृत चौधरीले बताउनुभयो ।

लक्ष्मीकलीले गत असोज २७ गते मृत्यु भएको रैथाने जंगली मकुना हात्तीको संसर्गमा छावा जन्माएकी आरक्ष प्रशासनले जनाएको छ । मकुना करेन्ट लागेर मरेको थियो ।
मकुनाको मृत्युपछि मङ्सिर ११ गते शोभाकलीले पनि भाले ‘छावा’ जन्माएकोमा त्यसको नाम रामसारगज राखिएको थियो । तर, जन्मिएको २२ दिनमै रामसारगज मरेको थियो । आरक्षमा यतिबेला दमदमकलीको छोरी जन्मिएको तीन वर्ष पुगेको छ। जसको नाम कुसाहाकली राखिएको छ। यस्तै, सरस्वती कलीको छोरी जन्मिएको पनि तीन वर्ष नै पुगेको छ । सरस्वतीकलीको भाले छावाको नाम उत्तरगज रहेको छ । सरस्वतीकली फेरि गर्भ बसेको छ। चार महिनापछि वच्चा छावा जन्मिने समय तोकिएको छ।

शोभाकलीको चार वर्षअघि पनि छावा जन्मिएको थियो, त्यसको नाम कोशीकली राखिएको थियो । यस्तै, २०७६ माघ ८ गते तीर्थमानकलीले छावा जन्माएको थियो ।

हात्तीले १८ महिनादेखि २२ महिनामा बच्चा जन्माउने गर्छ । हात्तीले आफ्नो आयूभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ । तरपनि बच्चा जन्माएपछि दुर्लभै मात्रमा बाच्ने गरेका छन् । कोशी टप्पुमा दसवटा हात्तीको दरबन्दी रहेको छ। जसमा चितवनमा पाँचवटा काज सरुवा लगिएको छ। चितवनमा रहेकामध्ये पनि वच्चा जन्मिएछि दुईवटा वच्चा र चारवटा ठूला हात्ती रहेका छन् । कोशी टप्पुमा यतिबेला बच्चासहित नौवटा पुगेका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट