Saturday, October 1, 2022

सुरक्षित स्थानमा राखिएका सप्तकोशी पीडित घर फर्कन मरिहत्ते

इटहरी : सप्तकोशी नदीले धार परिवर्तन गरि मानववस्तीमा प्रवेश गरेपछि सुरक्षित स्थानमा राखिएका उदयपुर बेलकाका पीडित जोखिमका बीच घर फर्कन मरिहत्ते गर्न थालेका छन् । सप्तकोशी नदीमा पानीको सतह घटेपनि निरन्तर कटान गरि रहेको बेला अधिकांस पीडित आ–आफ्नो घर फर्कन थालेका हुन् । उनीहरुलाई घरभित्र रहेको अन्नपात, धान खेती अनि घरमा पालेका गाईवस्तु, कुखुरा, बाख्रा र सुगुरको मायाले पिरोल्ने गरेको छ।

बुधबार बिहान ४ बजे सप्तकोसी नदीले पश्चिमतर्फ धार परिवर्तन गरि मानववस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका २० हजारभन्दा बढी विस्थापित भएका थिए ।

बिस्थापित पीडितहरुले घरमा राखेको खाद्यन्न त पुरै माया मारि सकेका छन तर घरमा चौपायाको विजोग भएको भन्दै धेरैजसो घर फर्कदा छन् ।

४० वर्षपछि सप्तकोशी पूरानै धारमा फर्किएर बेलका नगरपालिकाका वडा नं. १, २, ३, ८ र ९ वडामा प्रवेश गर्दा पुरै वस्ती जोखिममा छ । विस्थापितलाई बेलकाकै चक्रपुर माध्यमिक विद्यालय, कोशी माध्यमिक विद्यालय, सातपत्रे आधारभूत विद्यालय, कतिपय आफन्तको घरमा त कतिपय घरभाडा लिएर बसेका छन् । उनीहरुमध्ये कतिपयको बसाई सहज छ त कतिपयले असहज महसुस गरेका छन्।

मध्यपहाडी राजमार्ग विस्तारका लागि चतरामा निर्माण गरिएको पुल पार गरेर तीन किलोमिटर बढी दक्षिण सप्तकोशीको पश्चिमी तटबन्ध नजिकै आखाँले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको ठूलो वस्तीका बिस्थापित बासीन्दा पानी घटेर सहज भएपछि त्यही वस्ती नफर्किए कुनै विकल्प छैन् । त्यहाँको वस्तीका बासीन्दाको जीवनयापन कृषी र पशुपालनमा निर्भर छ । जसले गर्दा जहिले भएपनि आफ्नै घर नफर्किकन नहुने विस्थापित पीडितहरु बताउँछन् ।

अहिले कोशीले बाँध भत्काएर मानववस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोशी बग्ने गथ्यो । २०४५ सालको भूकम्पपछि कोशीले विस्तारै धार परिवर्तन गरि पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए । अहिले कोशी नदीमा पानीको वहाव घटीरहेको छ । विहीबार दिउँसो कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको वहाव घटेर एक लाख ८६ हजार ३७० मा झरेको छ। ५६ वटा ढोकामध्ये ३५ वटा खुल्ला राखिएको छ। तर, पानीको वहाव घट्दा कोशीले कटान भने झनै तिव्र पार्ने गरेको छ। विस्थापित पीडितहरुलाई अरु थप खतरा हुने भएकाले घर नफर्कन आग्रह गरिएको बेलका नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडाअध्यक्ष पदमबहादुर खड्काले बताउनुभयो ।

बाढी पीडितलाई अहिले अल्पकालिन रुपमा सुरक्षित स्थानमा राख्दा नै मन थामिएको छैन् । केही सहज हुनासाथ उनीहरुलाई कसैले रोकेर रोकिनेवाला छैनन् । सरकारले बैकल्पिक व्यवस्था गरे सधैभरीको पीडा अन्त्य हुने उनीहरुको साझा आवाज छ। आफ्नै निर्वाचन क्षेत्रका बाढी पीडितको समस्या समाधान र राहतको सामग्री तथा स्थायी तटबन्धको लागि सरकार लागि पर्ने परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले भने वचन दिनुभएको छ।

सप्तकोशी नदी बेलका नगरपालिका वडा नं. ८ डुम्रीबोटे नजिकैबाट कटान गरेर वस्तीतर्फ प्रवेश गरेको थियो । नदी वस्तीमा प्रवेश गर्दा बेलकाबाहेक सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकाका वस्तीलाई पनि असर गरेको छ।

सुनसरीको बराहक्षेत्र वडा नं. ६ र ९ का वडाका बासीन्दालाई पनि असर गरेको छ। ०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको सप्तकोशी पीडितको पीडामा मल्हम लगाउन अहिलेसम्म कसैले सार्थक प्रयास गरेको छैन् । अब पनि भोटको राजनीतिमा कोशी पीडितको झिनो आवाज कोशीको गर्जनसँगै नहराओस् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट