Saturday, October 1, 2022

प्रदेश नं १ मा  एक वर्षमा ५३१ जनाको मृत्यु

विनोद आचार्य
प्रदेश नं  १ का १४ जिल्लामा एक वर्षको अवधिमा भएका दुर्घटनामा ५३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको तुलनामा १२ गुना बढी घाइते भएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा ३ हजार आठ सय २० वटा सवारी दुर्घटनामा परि ६ हजार ६ सय ४८ जना घाइते भएको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । यसरी मृत्यु हुने र घाइते हुनेको संख्या निरन्तर बढे दुर्घटनाले भयावह स्थिति सृजना हुने देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा ४ सय ७६ जनाको मृत्यु भएको थियो। सो समयमा चार हजार ८७६ जना घाइते भएका थिए । त्यो अवधिमा १ हजार ३ सय ३१ सवारी दुर्घटना भएका थए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा तीन सय ३२ जनाको मृत्यु भएको थियो । त्यतिबेला एक हजार ९९८ जना घाइते भएका थिए । त्यो समयमा १ हजार ३ सय २२ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७५/७६ मा भने ३७३ जनाको मृत्यु भएको थियो । त्यति बेला दुई हजार तीन सय २५ जना घाइते भएका थिए । सो समयमा १ हजार २ सय ९८ सवारी दुर्घटना भएका थिए ।
यसरी वर्षेनी सवारी दुर्घटनासँगै मृत्यु र घाइते हुनेको संख्या बढ्दो छ। कानुन कार्यन्वयन फितलो भएर मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राकेश रेग्मी जानकारी दिनुभयो ।
दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन रहेको ट्राफिक प्रहरीको रेकर्डमा उल्लेख छ। खास गरेर अल्लारे युवाहरूले ती सवारी साधन चलाउने भएकाले बढी दुर्घटना हुने गरेको रेकर्डमा उल्लेख छ। दुई पाङ्ग्रे क्रमशः कार, जिप र बस बस दुर्घटना हुने गरेको तथ्याङ्क उल्लेख छ। यसरी दुर्घटना बढनुमा तीब्र गतिमा सवारी चलाउनु र मादक पदार्थ सवेनसँगै सडकको अवस्था, यान्त्रिक गढबढी र चालकको लापरबाही मुख्य कारक भएको जनाएको छ।
दुर्घटना बढेर भयावह अवस्था सृजना हुन सक्ने भएपछि न्यूनिकरणका लागि सरोकारवाला निकाले विभिन्न खाले रणनीति तयार गर्ने र कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यद्यपि, पर्याप्त भने छैनन् । सरोकारवाला निकाय अझै प्रभावकारी कार्यक्रम ल्याएर दुर्घटना न्यूनीकरण गर्न थप जिम्मेवारी र जबाफदेही ढंगले लाग्नैपर्छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट