Saturday, October 1, 2022

सुनसरी–मोरङमा औद्योगिक प्रदूषण बढ्दो (भिडियो रिपोर्टसहित)

विनोद आचार्य
सुनसरी : सुनसरी–मोरङ करिडोर क्षेत्रमा पछिल्लो समय औद्योगिक प्रदूषण बढ्दो छ ।

करिडोरको उद्योगबाट निस्कने रसायनहरू स्थानीय खोला–खोल्सामा प्रशोधनविना छाड्ने क्रम दिनादिनै बढिरहेको छ, जसको प्रत्यक्ष नकारात्मक असर स्थानीयको जनस्वास्थ्य र दैनिक जीवनमा परिरहेको छ । यस क्षेत्रका प्रायः मानिसमा छातीको सङ्क्रमण तथा छालासम्बन्धी रोगको समस्या देखिएको स्थानीयवासी ममता ठाकुर बताउनुभयो ।

उहाँका अनुसार करिडोरका उद्योगले सामान्यदेखि मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिने विषालु ग्याससमेत जथाभावी विसर्जन गर्ने गरेका छन् । प्रदूषणले गर्दा मानिसलाई मात्र नभएर गाईवस्तु र खेतियोग्य जमिनलाई समेत असर गर्ने गरेको स्थानीय अहमत मुस्तखीले जानकारी दिनुभयो ।

फोहर तथा विषाक्त पानी केही उद्योगले पाइप तथा ह्वीमपाइप प्रयोग गरी सोझै खोलामा मिसाउने गरेका छन् भने धेरैजसोले वरपरका खेत, नाला, खोल्सामा फोहर तथा विषाक्त पानी त्यत्तिकै छोडिदिने गर्छन् । जुन बग्दै गएर खोलामा मिसिने गर्छ । त्यो खोलाको पानी गाईवस्तु र बाख्राले खादा बिरामी हुने गरेको मुस्बा मियाँले जानकारी दिनुभयो ।

मुलुकको पहिलो आर्थिक राजधानी मानिने सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्र अन्तर्गत सुनसरीमा मात्र दुई हजार हाराहारी साना तथा ठूला कलकारखाना सञ्चालित छन् । वातावरण संशोधन ऐन २०५३ मा वातावरण प्रतिकूल हुनेगरी कुनै पनि उद्योग–धन्दाले फोहर–मैला निष्कासन गर्न नपाउने कुरा उल्लेख छ ।

सुनसरी–मोरङमा प्रदूषण नियन्त्रणका लागि २०६३ मा सरकारी पहल शुरू भएको थियो । स्थानीयस्तरमा वातावरण व्यवस्थापन सुदृढीकरण परियोजना लागू भए पनि त्यसको खासै प्रभाव देखिएको छैन । सुनसरीमा पर्ने साना तथा ठुला उद्योग गरी २ सय ७३ उद्योगलाई तत्कालिन जिल्ला विकास समिती हुँदा प्रदूषणको मात्रा हेरेर अस्थायी र स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिँदै आएको थियो । तर तत्कालिन जिविसको अधिकार प्रदेशमा माताहात भएपछि कार्यान्वयन नहुँदा पनि प्रभावकारी रोकथामको काम हुन नसकेको इटहरी उपमहानगरपालिका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताउनुभयो ।

सुनसरी–मोरङ करिडोरमा रहेका अधिकतर उद्योग ऐनमा भएको व्यवस्थाविपरीत सञ्चालन भइरहेका छन्, जसका कारण यो क्षेत्रको वातावरण तथा जीवनमा दिनदिनै जोखिम थपिँदो छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट