Saturday, October 1, 2022

सप्तकोशी पीडित धमाधम बिरामी हुँर्दै

पारस सुवेदी
वेलका, उदयपुर । साताअघि सप्तकोशीले धार परिवर्तन गरि वस्ती प्रवेश गरेपछि सुरक्षित स्थानमा बसेका पीडितहरु बिरामी परेर समस्या सृजना भएको छ । विभिन्न शिविरमा बस्दै आएका उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्यामा देखा परेको हो ।

सप्तकोशी मानव वस्तीमा प्रवेश गरेपछि वेलका जनता क्याम्पस, खसीबाख्रा संकलन केन्द्र कान्तेचौरी, वानडाँडाको रेडक्रस भवनको शिविरमा राखिएको थियो । जमिनको चिसो र अत्याधिक गर्मीका कारण अधिकतर बिरामी परेका हुन् ।

कोशीले साउन १८ गते वेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्रका गाउँमा पसेको थियो । कोशी पसेपछि वेलका नगरपालिका वडा नं. १, २, ३, ८ र ९ का भाटेपुल, सिसौली चौरी, एकता, चिलिया, दुर्गा मन्दिर ,एबीसी टाप्पु बाढीको जोखिममा परेका हुन् । नदी बस्ती प्रवेश गरेपछि १ सय ९ परिवारको १ हजार ५१ जना सुरक्षित स्थानमा बस्दै आएका छन् । अरु भने जोखिमका बीचमा वस्तीमै वस्दै आएका छन् । सुरक्षित स्थानमा बसेका मध्ये धेरैमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्ष्यण भएको वेलका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल राईले बताउनुभयो ।

सुरक्षित स्थानमा बसेका पीडितहरुमा देखा परेको उच्च ज्वरो, झाडापखाला र वान्ताकोे शिविरमै पुगेर औषधी उपचार गरिएको छ । अस्पताल भर्ना भएकामध्ये अधिकांश उपचारपछि फर्किएको र अन्य उपचार हुने तथा आउने क्रम चलि नै रहेको छ। शिविरमा नै स्वास्थ्यकर्मीको टोली खटाइ रहेको र आवश्यक पर्ने औषधी नगरले व्यवस्थापन गर्दै आएको वेलका नगरका स्वास्थ्य शाखा प्रमुख बिनोद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार विरामी हुनेमा बालबालिका र जेष्ठ नागरिक बढी रहेको समेत जानकारी दिनुभयो ।

आश्रय लिइरहेका प्रभावितहरु सम्भावित खतराबाट त जोगिएका छन् । तर, स्वास्थ्यमा नै समस्या आउन थालेपछि भने चिन्तित छन् । पीडितको समस्या समाधान गर्न नगरपालिकाले केही पहल गरे पनि पर्याप्त छैन । यसप्रति स्थानीय निकायसँगै संघ र प्रदेश सरकार गम्भीर भएर काम गर्न जरुरी छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट