Saturday, October 1, 2022

१० दिन पछि बर्जुको वडा कार्यालय सञ्चालन

सुनसरी : सुनसरीको बर्जु गाउँपालिकाको वडा नं. ३ कार्यालय १० दिन पछि सञ्चालनमा आएको छ । घाँस काटेको झगडामा विवाद हुँदा एक जना महिलाको मृत्यु भएपछि सो वडा कार्यालय बन्द रहेको थियो । 

साउन १३ गते बर्जु गाउपालिका वडा नं. ३ की चन्द्रकला रायको सोही वडाकी संगीता कुमारी रायले कुटपिट गर्दा मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि वडा कार्यालयले कुनै सहयोग नगरेको भन्दै सयौँ को सङ्ख्यामा आएका स्थानीयले वडाध्यक्ष विनोद गुरुङलाई कुटपिट गर्नुका साथै वडा कार्यालयमा तोडफोड गरेका थिए । 

वडाध्यक्ष माथि ज्यानमार्ने प्रयास र वडा कार्यालय तोडफोड भएपछि बन्द रहेको वडा कार्यालय प्रहरीको उपस्थितिमा बिहीवार छलफल कार्यक्रम आयोजना गरेर सञ्चालनमा ल्याइएको हो । साउन २३ गते देखि वडा कार्यालय बन्दहुँदा स्थानीयले पाउने सबै सेवा बन्द भएकोले सबै राजनैतिक दलहरूसँग छलफल गरेर वडा कार्यालय सञ्चालनमा ल्याइएको वडाध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

हत्यामा संलग्न संगीता कुमारी राय पक्राउ परि प्रहरी हिरासतमा छिन् । वडाध्यक्ष माथि कुटपिट गर्ने र वडा कार्यालय तोडफोड गरेको आरोपमा ११ जना विरुद्ध अभद्र व्यवहार कसुर अन्तर्गत मुद्दा चलाइएकोमा उनीहरु फरार रहेका छन् । 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट