
विराटनगर : प्रदेश १ को प्रदेश सभाको अन्तिम बैठक चलिरहदा प्रदेशको नामाकरण गर्न माग गर्दै थरुहट कोचिला संयुक्त संघर्ष समितिले प्रदेश सभा भवन अगाडि धर्ना दिएको छ ।
संघीयता कार्यान्वयनपछि प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम दिन प्रदेश सभाको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले प्रदेशको नामाकरण गर्न नसकिएको बताईरहदा प्रदेशको नामाकरण थरुहट कोचिला हुनुपर्ने माग गर्दै धर्ना दिइएको थियो । धर्नामा सहभागीहरुले विशेष आरक्षणको माग समेत गरेका थिए ।
साउन २२ गते देखि स्थगित भएको प्रदेश सभाको बैठक भदौ १७ गतेका लागि राखिएको थियो । प्रदेश सरकारले भदौ १७ गते शुक्रवार राति १२ बजे देखि प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन अन्त्यका लागि सिफारिस गरे बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्ले बजेट अधिवेशन अन्त्य गर्नुभएको छ। बजेट अधिवेशन अन्त्य संगै प्रदेश १ को नामाकरणको विषय अनिश्चित बनेको छ । शुक्रबार राति १२ बजे देखि बैठक अन्त्य हुने प्रदेश प्रमुखको पत्र सभामुख प्रदिपकुमार भण्डारीले पढेर सुनाएर सदन अन्त्य गर्नुभएको थियो ।
