
विराटनगर : नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय पूजीको विकास नभए सम्म मुलुकले प्रगति पनि गर्न नसक्ने र समाजवाद पनि नआउने बताउनुभएको छ ।
बुधबार विराटनगरमा आयोजना गरिएको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११ औं महाधिवेशनको उद्घाटन गर्दै नेता पाण्डेले समाजवादको नारा घन्काउनु भन्दा राष्ट्रिय पूजीको विकासमा लाग्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले खाद्यन्न देखि सवै वस्तु आयात गर्नु भन्दा देशमै उत्पादन गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली उद्योगहरु बन्द गरेर मलेसिया र खाडी मुलुक जाने प्रवृत्ति रोक्न मुलुक भित्रै उद्योग खोल्ने एवम् सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । नेता पाण्डेले कृषि र उद्योगका लागि दिइने जग्गामा र उद्योग खोल्नको लागि नो ट्याक्स प्रावधान लागू गर्नुपर्ने बताउनुभयो ।
नयाँ नेतृत्व चयन गर्ने गरी तीन दिनसम्म आयोजना गरिने महाधिवेशनमा ७७ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।
