
इटहरी : इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला बुधबारबाट सुरु गरेको छ । इटहरी, धरान र विराटनगरमा आयोजना हुने शैक्षिक मेलाको बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
उहाले आम मानिसले राज्यबाट शिक्षा क्षेत्रमा लगानी नभएको गुनासो आएपनि राज्यले शिक्षा क्षेत्रको गुणस्तरका निम्ति लगानी गरिरहेको तर्क गर्नुभयो ।
कार्यक्रममा ई–क्यान केन्द्रीय निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थीले एउटा मात्रै कन्सल्टेन्सीको कुरा पत्याएर तुरुन्तै भर पर्न नहुने बताउनुभयो । उहाँले फरकफरक कन्सल्टेन्सीमा र विश्वसनीय माध्यमबाट मात्रै शिक्षा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ई–क्यान पूर्वाञ्चलका सल्लाहकार कमलप्रसाद तिम्सिनाले गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्छ भनेर मेलाको आयोजना गरिएको जनकारी दिनुभयो ।
ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको हो । उहाँका अनुसार ई–क्यानले तेस्रोपटक मेलाको आयोजना गरेको हो ।
बुधबार इटहरीमा गरिएको मेला २३ गते बिहीबार धरान र २४ गते शुक्रबार विराटनगरमा आयोजना गरिने गरिएको छ ।
