Saturday, October 1, 2022

हत्या आरोपमा पक्राउ परेका किशोरलाई सार्वजनिक

एक साताअघि धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकाको तोड्केकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना किशोरलाई सार्वजनिक गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको आरोपमा धनकुटाको साँघुरीगढी गाउँपालिका वडा नं. ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई सार्वजनिक गरेको हो । धरान वडा नं. २० निवासी ६४ वर्षीया पूर्णसरी राईको भदौ २९ गते हत्या भएको थियो ।

हत्यापछि फरार किशोर नकुललाई विराटनगरबाट पक्राउ गरिएको थियो । पूर्णसरिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट हत्या भएपछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर बराहक्षेत्र नगरपालिका वडा नं. ४ बाट साइकल चोरेर नकुल भागेको अनुसन्धानबाट खुलेको छ ।

नकुलले बराहक्षेत्र हुँदै भोक्राहा नरसिंह पुगेर स्थानीय २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएपछि भारततर्फ लागेको सूचना पाएको आधारमा विराटनगरबाट पक्राउ गरिएको थियो । नकुलले दिएको गहना राख्ने र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई मुद्दा चलाइएको छ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट