
नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले सहमतिमा सरकार गठन हुँदा प्रदेश नंं. १ को मुख्यमन्त्रीको लागि आफ्नो दाबेदारी रहेको बताउनुभएको छ ।
प्रदेश मन्त्री एवम् नेता आङबोले प्रदेशमा गठबन्धनको सरकार बन्ने र प्रदेश नंं. १ भागबण्डामा माओवादी परे आफ्नो मुख्यमन्त्रीको दाबेदारी रहने बताउनुभएको हो । उहाँले निर्वाचन अघि भएका गठबन्धनसँगै केही दलहरूलाई समेटेर गठबन्धनको सरकार गठन गर्ने प्रष्ट पार्नुभयो । एक कार्यकाल प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी बहन गरिसक्नुभएको आङ्बोले मुख्यमन्त्री बाहेक अन्यतर्फ आफू नजाने बताउनुभयो । सहमतिमा सरकार हुँदा आफ्नो दावेदारी मुख्यमन्त्रीमै रहने र मन्त्री भएर एक कार्यकाल जिम्मेवारी वहन गरिसकेको हुँदा त्यहाँ नेतृत्वदायी भूमिकामा रहने उहाँको भनाई छ । उहाँले यसपटक मन्त्रीको जिम्मेवारीमा पार्टीका अन्य साथीलाई अवसर दिने बताउनुभयो ।
