Friday, January 27, 2023

नाकाबाट १ सय ३१ महिला तथा बालिका उद्धार

मोरङको विराटनगर रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लैजादै गरेको अवस्थामा एक वर्षको अवधिमा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाले दाबी गरेका हुन् । संस्थाको तथ्याङ्क अनुसार सन् २०१० देखि हालसम्ममा रानी नाकाबाट १ हजार १ सय ६९ महिला तथा बालिकाको उद्धार गरिएको छ । उक्त अवधि भित्र संस्थामा ५ सय ५१ महिला तथा बालिका हराएको उजुरी दर्ता भएका थिए । जसमा ८३ जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाइएको छ । साथै, मोरङको इलाका प्रशासन कार्यालय उर्लाबारीमा राहदानी बनाउन आएका १ हजार ४ सय ३९ पुरुष र १ हजार ३५ महिलालाई वैदेशिक रोजगारीका बारे सचेतनामूलक शिक्षा दिएको माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलले बताउनुभएको छ । सन् २०२२ देखि हालसम्म उद्धार गरिएकामध्ये १८ देखि ६० वर्ष उमेरसम्मका ८९ र १२ देखि १८ वर्षमुनि उमेरका ४२ जना छन् । सबैभन्दा बढी मोरङका ३६, सुनसरीका २१, झापाका १५, काठमाडौंका ९, उदयपुरका ७, धनकुटा, इलाम, भोजपुरका ५, ५, संखुवासभाका ४, सप्तरी, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, लमजुङ, सिन्धुलीका २, २ जना भएको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । यस्तै, कैलाली, धनुषा, कपिलवस्तु, काभ्रेपलाञ्चोक, सर्लाही, सिरहा, गोर्खाका १ ,१ र सीमावर्ती भारतीय गाउँका ३ जनाको उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको छ । मोरङका ३४ जनामध्ये विराटनगर महानगरका १४, रंगेली र सुन्दरहरैंचाका ४, ४, कटहरी गाउँपालिकाका ४, बेलबारी र कानेपोखरीका २÷२, उर्लाबारी, धनपालथान र सुनवर्षीका १÷१ जना रहेका छन् । यसैगरी, जातीय आधारमा चौधरी र राजवंशी समुदायका ३४, राई, लिम्बु, मगर, तामाङ, लामा ३४, ब्राह्मण÷क्षेत्री २५, विक, परियार १८, तराईबासी ८, मुस्लिम ५, नेवार ३, धिमाल, भुजेल, अग्रवाल, माझी समुदायका १ ,१ जना छन् । यो वर्ष महिला तथा बालिका हराएको सम्बन्धमा परेको ४७ वटा उजुरीमध्यें ११ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको छ । बेचबिखनमा परेका एक महिलालाई भने भारतको दिल्लीबाट उद्धार गरिएको छ । बेचबिखनमा परेका एक बालिकालाई यो वर्ष रानी नाकाबाट उद्धार गरेर मुद्दा समेत दायर गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट